मेरो जीवनयात्रा

अर्घाखाँची जिल्लाको धारापानी गा.वि.स. वडा नं.६ बाँजाखर्कमा बुवा दोल प्रसाद भुसाल र आमा निमकला भुसालको दोश्रो सन्तानको रुपमा २०४५ साल कार्तिक २४ गतेका दिन मैले यो धर्तीमा पहिलो पाईला टेकेको हुँ । 

रातामाटामै रहेको श्री अन्नपूर्ण निम्न माध्यमिक विद्यालयमा कक्षा ८ सम्मको अध्ययन पुरा गरेको मैले २०६० सालमा श्री शान्ति माध्यमिक ( अहिलेको उच्च मा.वि.) बाट एस.एल.सी उत्तीण गरेँ ।

घरको कमजोर आर्थिक अवस्थाका बाबजुत पनि आफ्नो छोरालाई ठूलो मान्छे बनाउने चाहना अनुरुप २०६१ सालमा बुवाले मलाई काठमाण्डौ लैजानुभयो । काठमाण्डौमा धेरै उतार चढावहरु आए । काठमाण्डौ बसाई जनआन्दोलनताका आन्दोलनमा बाहेक खासै सफलताको लागि प्रयोग भएन । जीवनमा पहिलोपटक राजनीतिक भाषा जानियो, अनि त्यतीबेलाको सानै पार्टी नेपाली जनता दलको साधारण सदस्य हुँदै केन्द्रीय सदस्य सम्म बन्ने अवस्था सृजना भयो ।

राजनीतिक भाषा जान्ने शुभ अवसर प्राप्त भएपनि काठमाण्डौ बसाईमा मेरो शैक्षिक यात्रा खासै उपलव्धीपूर्ण रहेन । भोटाहिटीमा रहेको ललितकला क्याम्पसमा कक्षा ११ र १२ को पढाई पुरा गरेपछि बि.एफ.ए. (चित्रकला विषयमा स्नातक) को तेस्रो वर्ष सम्मका सवै क्लासमा पढियो । कुन वर्षका कुन कुन विषय पास गरीयो, कुन पास गर्न बाँकी छ भन्ने सम्म टुंगो छैन । किनकी त्यतीबेला मेरो पढाई भन्दा राजनीतिले बढी समय लिएको थियो । मलाई संझना छ, एक दिन बिहान म पार्टी प्रशिक्षणमा सहभागी भएको थिएँ । विहान ११ बजेतिर जाँच दिन किन नआएको भनेर एकजना साथीले फोन गर्दा पो थाहा भययो, मैले त त्यस दिन जाँच थियो भन्ने नै भुसुक्क विर्सेछु । (हल्का निलो अक्षर पछि थपिएको)

पत्रकारिताको पहिलो अभ्यास :
पत्रकारीतामा केही रुची भएपनि म प्रत्यक्ष सहभागी बन्ने मौका पाएको थिइन । नेपाली जनता दलसंग आवद्ध रहँदै गर्दा पार्टीको मुखपत्रको रुपमा प्रकाशित हुँदै आएको न्याय चक्र साप्ताहिकका करीव ६ महिनासम्म कार्यकारी सम्पादकको रुपमा काम गर्ने अवसर जुर्यो । यो नै मेरो जीवनको पहिलो पत्रकारीता थियो ।

अर्घाखाँचीको यात्रा ः
जाआन्दोलन २ र संविधानसभाको पहिलो चुनाव, गणतन्त्र घोषणा लगायतका महत्वपूर्ण समययमा काठमाण्डौमा विताएको मलाई धेरै वर्ष काठमाण्डौको बसाई जुरेन । करीव करीव सात वर्ष लामो काठमाण्डौ बसाई अन्त्य गर्दै २०६७ सालतिर म अर्घाखाँची फर्किएँ । काठमाण्डौको बुद्धनगर, बिजुलीबजार नजिकै सानो पसल समेत सञ्चालन गरेको मैले पसल “कटाकुटु” पारेर सन्धिखर्क फर्किएँ ।

राजनीतिमा लाग्नु गल्ती ः
काठमाण्डौमा राजनीतिक यात्राको कारण पसलमा समय दिन नसक्ने भएपछि म सन्धिखर्क फर्किएको थिएँ । सन्धिखर्क आएको करीव ६ महिनापछि तत्कालिन सभासद् विश्वनाथ प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा सानदार रुपमा नेपाली जनता दलको जिल्ला भेला सम्पन्न भयो । जसले मलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । 

संविधानसभाले संविधान जारी गर्न नसकी विघटन भएपछि आजिवन राजनीति नगर्ने गरी मैले २०६९ साल बैशाखमा सन्धिखर्कमा भएको लोकतन्त्र दिवसमा घोषणा नै गरेर सक्रिय राजनीति त्यागेको थिएँ । फेरी जीवनमा अर्को कमजोरी गर्दै म केही न केही रुपमा ड्यास माओवादीसंग जोडिएँ । जनता दल छोडेको त्यस्तै ५÷६ महिनापछि नेकपा माओवादी निकनटको क्रान्तिकारी पत्रकार महासंघमा जोडिएँ । एक दुई महिना माओवादी बनेको मैले २०७० साल जेठ नौ गतेका दिन जीवनमा कुनै पनि पार्टीको सक्रिय कार्यकर्ता नबने गरी पार्टी परित्याग गरेँ । कमजोरीका विच नै भएपनि यो मेरो जीवनको एतिहाँसिक र महत्वपूर्ण दिनको रुपमा रह्यो । 

पार्टी विनाको जीवन ः
पार्टी विनाको जीवन त्यती सजिलो नहुने रहेछ । पार्टिको साधारण सदस्य समेत नरहने गरी पार्टि त्यागेपछि मलाई जीवनमा धेरै बाधा ब्यवधानहरु आए । आइरहेका छन् । र भविश्यमा पनि आउनेछैनन् । खासगरी दलीय पत्रकारीताको विरोध गर्ने म कुनैपनि पार्टीमा आस्थावान साथीहरुसंग पनि टाढा छु । रपनि म अत्यन्तै खुसी छु । 

अहिले ः
यो पोष्ट लेख्दै गर्दा व्यवसाय संगै म अर्घाखाँची जिल्लाका स्थानीय मिडीयाहरुमा क्रियाशिल छु । गतवर्षदेखी नयाँ एफ.एम.को स्टेशन म्यानेजरको रुपमा कार्यरत रहेको म अर्घाखाँची जिल्लामा मिडीयाको बिकास भएको देख्न चाहन्छु ।  जिल्लामा कमसेकम एउटा सफल एफ.एम., एउटा दैनिक पत्रिका र एउटा शसक्त अनलाइनको व्यवस्थापनमा मेरो मुख्य ध्यान केन्द्रीत छ । यो नै मरो जीवनको लक्ष्य पनि हो । 

बाँकी फेरी फेरी लेख्छु नी ल ........... २०७० बैशाख ३० गते

पढेर सक्काउनुभयो ? यही मुनिपट्टी खुसुक्क कमेन्ट पनि है ।

2 comments: