बाई बाई काठमाण्डौ

हरि प्रसाद भुसाल
सम्भवत हरि प्रसाद भुसाललाई काठमाण्डौंले विर्सीइ सकेको छ र चिन्दैन पनि । किनकी हरिप्रसाद भुसालको लागि काठमाण्डौ महत्वपूर्ण भएपनि काठमाण्डौको लागि हरिप्रसाद मात्र महत्वपूर्ण नहुन सक्छ । काठमाण्डौले आजसम्म थुप्रै हरिप्रसादहरुलाई स्वागत गरेको छ मुल्यांकन गरेको छ । कसैबाट सहयोग पाइरहेको छ त कसवाट तिरस्कार । कसैलाई हाँस्दै विदायी गरेको छ त कसैलाई निकै भावुकताका साथ विदायी गरेको छ । यसरी नै करिव ७ वर्ष आफ्नो काखमा खेलाइरहेको काठमाण्डौले गतवर्ष मलाई विदायी गर्यो । सम्भवत मलाई लाग्छ हाम्रो विदायी निकै भावुक थियो र त थानकोटबाट बाहिर निस्कदै गर्दा रोक्न खोज्दा खोज्दै पनि मैले मेरो आँसु थाम्न सकेको थिईन । जेहोस् विदायी पछिका दिनहरु विताउन काठमाण्डौलाई त्यती असहज पक्कै भएन किनकी उसले त्यसपछि पनि थुपै्र हरिप्रसादहरुलाई स्वागत तथा विदायी गरिसकेको छ तर मलाई भने काठमाण्डौलाई विर्सन निकै असहज भइरहेको छ । किनकी मेरो जीवनमा एउटा मात्र काठमाण्डौसंग सामिप्यता भयो । जहाँ मैले वोल्न सिकें राजनीतिक भाषा सिकें । जीवन निर्वाह गर्नका लागि गरिखाने माध्यम सिकें । समाज के हो र समाजमा कसरी वस्नुपर्छ भनेर सिकें । संगै वर्गियताको खाडल नपुरेसम्म समानतामुलक समाजको स्थापना असम्भव भएकाले लागि वर्गिय युद्ध अनिवार्य रहेछ भन्ने कुरा पनि सिकें । यतिमात्र होइन काठमाण्डौमा मेरो जीवनका अविश्मरणिय घटनाहरु व्यतित भए । राजाको जर्जर शाशन र माओवादीको भिषण आक्रामकताका विच संवैधानिक राजतन्त्रात्मक मुलुकको नागरिकको रुपमा काठमाण्डौ छिरेको म दशवर्षिय जनयुद्ध र राजतन्त्रको संगसंगै अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक र हिंसारहित मुलुकको नागरिक भएर फर्किएको थिएँ जुनवेला एउटा सामान्य किसानको छोरा राज्यको प्रमुख भइसकेको अवस्था थियो ।

प्रिय काठमाण्डौ तँ आजकाल के गर्दै छस  राजनीतिक परिवर्तनको संघारमा पटक पटक आफ्नो छातिमा नेपाल आमाका सपुतहरुको वलि चढाउने तँ कहिले पनि खुसी हुन सकेनस हगी  विभिन्न कालखण्डमा तैले आफ्नो छातिमा टाएर बलाएर रगतको वर्षा गराएर देशका तमाम राजनेताहरुलाई कुर्सीको भागिदार वनाएको छस तर त्यही आन्दोलनको क्रममा चिरिएको तेरो छातीमा मलम पट्टी लगाउने मानिस तैले आजसम्म पाएको छैनस् काठमाण्डौ । आखिर कहिलेसम्म आफ्नो चिरिएको छातिलाई लिएर दयाको भिख माग्छस काठमाण्डौ । तलाई दयाको भिख दिने यो धर्तीमा मान्छे जन्मिएकै छैन । हेर त तेरो शरिर भएर वग्ने वाग्मतीको अवस्था कस्तो छ  हिजोसम्म सफा काचन र स्वच्छ वाग्मतीलाई यो अवस्थामा ल्याउनेहरुले वाग्मतीलाई पुरानै अवस्थामा फर्काउने भनेर थोत्रा गाला जती वजाएपनि आत्मा देखि नै बाग्मतीलाई पुनर्जीवन दिन कोही पनि तयार छैनन काठमाण्डौ । आखिर वाग्मती आन्दोलनका क्रममा बालिएका टायरहरुलाई विसर्जन गर्ने माध्यमको रुपमा मात्र प्रयोग गरीएको छ अनि दुनियाभरका फोहोरलाई नसकी नसकी वगाउन विवश छ वाग्मती । तँलाई थाहा नै त छ नी हिजो वाग्मती आकर्षणको केन्द्र थियो मानिसहरु वाग्मतीलाई हेर्न र वाग्मतीको जल लिनको लागि मात्र कती टाढा टाढा सम्मबाट धाउने गर्दथे तर आज वाग्मती नदी आउनुभन्दा १०० मिटर परवाटै नाक छोपेर हिड्न बाध्य छन मानिसहरु । यसको क्षेतीपुर्ती उठाउनुपर्दैन र काठमाण्डौ 
हो काठमाण्डौ २०६२,६३ को जनआन्दोलनमा म पनि तेरो छातिमा उफ्री उफ्री नारा घन्काएको थिएँ । तत्कालिन समयमा राजतन्त्रका विरुद्ध म तेरो छातिमा उफ्रीएको थिएँ । मैले सोंचेको थिईन काठमाण्डु देशमा गणतन्त्र ल्याउन आफ्नो शरिर कुनैपनि वेला कुनैपनि किसिमले सुम्पन तयार हुने तेरो अवस्था गणतन्त्रको स्थापनापछि पनि २००७ सालबाट माथि उठ्न नसक्ला भनेर । तँ दिनप्रतिदिन फोहोर वन्दैछस् तैले दिन प्रतिदिन अव्यवस्थित शहरको नाउँमा आफ्नो किर्तिमानी वनाउने प्रयत्नमा छस । तँ आज प्रदुषणको खानी वनेको छस् । तेरो छातिमा टेकेर कुर्सीमा पुग्नेहरुले तेरो वारेमा एउटा माखो सम्म पनि मार्न सकिरहेका छैनन् । तेरो छातिमा टायर वाल्नेहरुले आफुले सफलता चुमिसकेपछि त्यो टायरको धुलो समेत पखाल्ने कष्ट गर्न सकिरहेका छैनन् ।

हो काठमाण्डौ मैले पनि तेरो छातिमा टायरका मुस्ला सल्काएको थिएँ र आन्दोलनको नारा घन्काएको थिएं । तर त्यही टायरमा आगो सल्काउदै गर्दा वज्रिएका लाठिका कारण भएको चोटको औषधी गर्न नसकेको विचरा मैले तेरो छातिको त्यो धुलो धुन र घाउमा मलम पट्टी लगाउन  कसरी पो सक्थें र  हेर न आफ्नै समेत उपचार गर्न नसकेपछि मलाई काठमाण्डौ वसाईवाटै हात धुनुपर्यो । के गर्ने काठमाण्डौ म स्वयं विवश छु । नेपालमा संघीय गणतन्त्र स्थापनाको लागि मैले खेलेको भुमिकाको सम्मान पनि कसले गरोस र आखिर । हिजो हामीले तेरो छातिमा टेकेर निरंकुश राजतन्त्रका विरुद्ध चर्का चर्का नारा लगाएका थियौं टाउका फुटाएका थियौं तर आज हामी त्यही आन्दोलनको घाउका कारण काठमाण्डौ छोड्न विवश छौ भने तेरो लागी हामीले के नै पो गर्न सक्छौ र  मलाई माफ गर काठमाण्डौ मैले तेरो आँसु पुछ्नुको साटो आफै नै तँलाई नै छोड्न विवश भएँ ।

तलाई थाहा नै त छ नि काठमाण्डौ गणतन्त्र स्थापनाका लागि हरिप्रसाद भुसालले खेलेको भुमिकाको बारेमा । तर के तँलाई थाहा छ काठमाण्डौ  लोकतान्त्रिक आन्दोलमा टाउको लुकाएकाहरु लोकतान्त्रिक आन्दोलन चल्दै गर्दा राजा तथा दमनकारीहरुसंग गोप्य भेटघाट गर्नेहरु राजसंस्था नेपालको पहिचान हो भनेर दावी गर्नेहरु देखी लिएर हिजो राजाका पाउमा दाम चढाउनेहरुले समेत आज हरिप्रसाद भुसाललाई राजावादीको पगरी गुथाएर आफु सच्चा गणतन्त्रवादी भएको दावी गर्ने दुस्साहस  गरिरहेका छन् । राजतन्त्रका विरुद्ध भएको आन्दोलनमा टाउका फुटाउनेहरुलाई राजावादीको आरोप लगाउनेलाई एक आखर झपार्ने काम पनि गर्न तँ सक्दिनस् । किनकी तँ आफै वोल्न सक्दिनस खाली हेर्न र आँसु चुहाउन मात्र सक्छस ।

जेहोस मलाई थाहा छ काठमाण्डौ तेरो छातिमा टायरको मुस्लो उडाएर तेरो छाती छिया छिया पार्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको मैले तेरो छाति पखाल्न नसक्दा तलाई नै माया मार्न पुगेपनि कमसेकम मैले आत्ममुल्यांकन त गरिरहेको छु नि काठमाण्डौ । आखिर गणतन्त्र स्थापनाको लागि भएको आन्दोलनमा च्युरा र पानी खाएर आन्दोलनको मोर्चामा होमिएको अनुभव पनि त छ नि हामी संग होइन र  देशमा लोकतात्रिक आन्दोलन चल्दै गर्दा झ्यालबाट लुकेर आन्दोलन हेरेर रमाउनेहरुले जनताको आँखामा कतिन्जेल छारो हाल्न सक्नान र  कहिलेसम्म शक्तिको आडमा आफुलाई गणतन्त्रवादी र साँच्चै आमुल परिवर्तनकारी दावी गर्न सक्लान  म हेरिरहेको छु काठमाण्डौ । तँलाई मेरो आग्रह छ अव तेरो छाती प्रयोग गर्नेहरुले क्षेतीपुर्ती गर्न सक्नुपर्दछ । होइन भने तेरो छाती कसैले पनि दुरुपयोग गर्न पाउदैन । तेरो छाती अव कसैको स्वार्थ पुरा गर्ने माध्यम हुन सक्दैन । अव हामी कसैलाई कुर्सीमा चढाउन होइन तेरो छाती वचाउनको लागि आन्दोलनको मोर्चामा होमिन तयार छौं । एकपटक आह्वान गरेर त हेर काठमाण्डौ । हामीले आजसम्म स्वार्थी नेताहरुका लागि शरिरको वलि चढायौं जो राष्ट्रिय स्वार्थलाई तिलााजली िदंदै व्यक्तिगत स्वार्थमा केन्द्रीत भएका छन् । अवको हाम्रो आन्दोलन यीनीहरुका विरुद्ध हुनेछ । अव हाम्रो आन्दोलन तँलाई सफा र काचन राख्न अनि तेरो चिरिएको छातिमा मलम पट्टी लगाउने तर्फ केन्द्रित हुनेछ र हाम्रो आन्दोलन नेपाली जनता सामु भ्रमको खेती गर्दै राष्ट्रको ढुकुटी सिध्याउनेहरुका विरुद्ध केन्द्रित हुनेछ । हाम्रो आन्दोलन गरिवमाराहरुको विरुद्धमा केन्द्रीत हुनेछ । हाम्रो आन्दोलन राष्ट्रियताको रक्षाको लागि हुनेछ । हाम्रो आन्दोलन नेपालीपनको रक्षार्थ हुनेछ ।

ल त लामो पनि भयो क्यारे आजलाई विदा हुन्छु । माया नमार्नु सम्झदै गर्नु । समय मिलेमा म तलाई भेट्न अवश्य पनि आउनेनै छु । तँलाई छोडेको १ वर्ष पछि भएपनि वाई वाई काठमाण्डौ । म आउछु ल ।

उही तेरो शुभ चिन्तक हरि प्रसाद भुसाल अर्घाखाँचीवाट
(२०६८ ज्येष्ठ २९, आइतवार)

No comments:

Post a Comment