त्यो खाम सुटुक्क ल्याउनु

एकोहोरो टोलाएर कुर्सीमा बसिरहेको थिएँ । कार्यालयमा काम गर्ने एकजना बहिनी (शायद उनको नाम कृपा थियो) ले सरले भित्र कोठामा बोलाउनुभएको छ भन्ने खवर कानमा सुनाईन । पत्रकारीतामा केही रुचि राख्ने भएका कारण भर्खर भर्खर त्यस क्षेत्रमा पसेको मलाई पत्रिकाको प्रकाशकसंग भेट्न पाउनु सौभाग्यको कुरा पनि थियो । ती वहिनीको कुरा भुईमा खस्न नपाउदै म प्रकाशकको कोठामा पुगेँ ।


प्रकाशक कुर्सीमा बसेर रातो खाममा कुन्नी के मिलाउदै थिए । निकै मेहनतका साथ खाम मिलाउदै गरेको उनको अलिक परको एउटा कुर्सीमाअ टुसुक्क बसेँ तर उनीसँग कुरा गर्ने हिम्मत जुराउन सकिन । ठूलो मेहनतका साथ नमस्कार सर भन्न सम्म भ्याएँ । उनले शायद नमस्कार त भने तर म तिर नजर पनि दिइरहेका थिएनन् । कुर्सीमा बसेको थिएँ, अनि उनले सोध्ने समयकटाउ प्रश्नहरु (के छ हालखवर, खाना खायौं, कसरी वित्दैछन दिनहरु, किन कालो टोपी लगाएको, तिमीलाई गर्मी मौसम कत्तिको मन पर्छ, इत्यादी इत्यादी) को जवाफ दिइरहेको थिएँ ।

उनले आफ्नो काम भ्याएका रैनछन क्यारे, उनले समयकटाउ गफ गरिरहेका थिए । करीव करीव १५ मिनेटको गफगाफ पछि उनले कुराकानीको साराँस पेश गर्दै भने “ भनेपछि क’रा ठिकै रैछ तिमीले एउटा काम गर्नुपर्यो,  नयाँ मान्छे पत्रकारिता सिक्दै पनि गर्नुपर्छ । डोनरहरुसंग चिनजान पनि गर्दै गर्नुपर्छ ।” म एकसरो सुनिरहेको थिएँ । उनी भन्दैथिए “ म तिमीलाई साँच्चैको पत्रकार बनाउछु । ”

पत्रिकाका मालिकसंग प्रत्यक्ष भेटघाट गर्ने सौभाग्य पाएकोमा खुसी भएको मैले मुसुमुसु हाँसिरहेको नाटक गरी मन्टो हल्लाएजस्तो गरिरहेको थिएँ । उनका कुराहरु सुनिरहेको पनि थिएँ ।

कुरा गर्दैगर्दा उनी कुर्सीबाट जुरुक्क उठेर मेरो छेउमा आए । करीव करीव आधा घण्टाको समयमा तयार पारेको खाम  मतिर देखाउदै उनले भने “ यो त्रिटन कलेजको प्रिन्सिपलको हातमा दिनु यो खाम हेरेपछि उनले तिमीलाई पनि एउटा खाम दिनेछन् त्यो खाम कसैलाई पनि नदेखाई यहाँ ल्याउ तिम्रो लागी के गर्नुपर्छ म गरौंला ।”

उनको यो आग्रहले मलाई रन्थनायो । यो काम सिधै गलत नियतबाट हुँदैछ भन्ने बुझेको मलाई खाउँ भने दिनभरीको सिकार नखाउ भने कान्छाबाउको अनुहार भनेजस्तो भयो । किनकी यो काम गरेँब भने मेरो स्वच्छ पत्रकारिताको पहिलो स्टेप नै दुषित बन्ने पक्का छ भने काम नगरेमा यस पत्रिकाबाट हात धुनुपर्ने निश्चित छ । केही समय गम  खाउँ । अनि बैठक वसेर  निर्णय निकाल्ने निर्णय गरेँ । करीव करीव आधा मिनेट बसेको अन्तरमनको बैठकले यो काम(खाम पुराउने) नगर्ने निष्कर्ष निकाल्यो । त्यसपछि केही समयपछि आउँछु भन्दै म कार्यालयवाट बाहिरिएँ ।

कुरा करीव करीव ६३ सालतिरको हो । भाद्र महिना थियो होला । (पत्रिकाको नाम यहाँ उल्लेख नगरौं ।) मैले कार्यालयबाट निस्किएपछि न त यो पत्रिका कतै वजारमा देखेको छु । न त पहिला नै देखेको थिएँ । मलाई सम्झना छ, उनी (प्रकाशक) ले मलाई रु ५०० दिएर बजारमा पत्रिका खोजेर किनेर ल्याउन अह्राएका थिए । त्यतीवेला मैले मुस्किलले काठमाण्डौका गल्ली गल्ली चहार्दा पनि दुइ दिनको विचमा तीन ओटा पत्रिका भेट्टाएको छु ।

No comments:

Post a Comment